कालीकोट । कालीकोट र बाजुराको सीमामा अवस्थित बडीमालिकाको त्रिवेणी पाटन वर्षायाममा हराभरा बन्ने प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ।
पहिले बडीमालिकामा जनैपूर्णिमाको अवसरमा पूजा गर्न मात्र तीर्थयात्री पुग्ने चलन थियो। तर पछिल्ला वर्षहरूमा प्राकृतिक दृश्यावलोकनका लागि अन्य समयमा पनि पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ।
चारैतिर फैलिएको हरियाली, खुला पाटन, चरणका लागि लगिएका भेडाबाख्रा, गाईभैँसी तथा घोडाका बथानले त्रिवेणी पाटनलाई अझ रमणीय बनाउने गरेको छ। यही आकर्षणका कारण जेठ महिनादेखि नै विभिन्न जिल्लाबाट पर्यटक त्रिवेणी पाटन हुँदै बडीमालिका पुग्ने गरेका छन्।
समुद्री सतहबाट करिब ४,२१९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन भ्रमणका लागि वैशाखदेखि असोजसम्मको समय उपयुक्त मानिन्छ।
रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीका अनुसार त्रिवेणी पाटनसँगै रहेका ३२ वटा सुन्दर पाटनले पर्यटकलाई अनुपम प्राकृतिक अनुभव प्रदान गर्छन्। उनका अनुसार अहिले बडीमालिका जनैपूर्णिमाको पूजाका बेला मात्र नभई वर्षको अन्य समयमा पनि पर्यटकको भीड लाग्न थालेको छ।
रास्कोट नगरपालिका–६ का मुस्कान शाहीले त्रिवेणी पाटनको लेकाली वन, त्यहाँबाट बग्ने खोला, हरियाली फाँट तथा रंगीचंगी फूलहरूले पर्यटकलाई लोभ्याउने गरेको बताए। उनका अनुसार यस क्षेत्रमा एक सयभन्दा बढी प्रजातिका फूल फुल्ने तथा विभिन्न बहुमूल्य जडीबुटी पाइने गर्छन्।
बडीमालिका मन्दिरमा पूजा गरी फर्किएका कालीकोटको खाँडाचक्र नगरपालिका–५ का निर्माण व्यवसायी गणेश आचार्यले पर्यटक तथा तीर्थयात्रीको सुविधाका लागि त्रिवेणी पाटनमा धर्मशाला, स्नानका लागि १०८ धारा, शौचालय, खानेपानीलगायतका पूर्वाधार निर्माण गरिएको जानकारी दिए।
यस्तै, सम्बन्धित गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले तीर्थयात्री र पर्यटकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक पर्यटन पूर्वाधार निर्माणको काम निरन्तर अघि बढिरहेको बताए।