रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सबै बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गर्दै तेहरान वार्तामा नफर्किए अर्को सातादेखि विद्युत् केन्द्र, पुललगायत ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि हुने आक्रमणका लागि प्रयोग भइरहेका इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले नयाँ चरणका हवाई आक्रमण सुरु गरिएको जनाएको छ।
इरानले अमेरिका–इरानबीच गत साता पुनः शत्रुता सुरु भएपछि होर्मुज जलडमरूमध्य फेरि बन्द गरिएको दाबी गरेको छ। यसले जुन महिनामा महिनौँसम्म चलेको युद्धपछि भएको नाजुक युद्धविरामलाई थप संकटमा पारेको छ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘ऊर्जा पूर्वाधारलाई अन्तिममा राख्नेछौं, तर अन्ततः त्यहीँ पनि आक्रमण हुनेछ। अर्को साता विद्युत् केन्द्र र पुलहरू निशानामा पर्नेछन्, यदि इरान वार्ताको टेबलमा फर्किएन भने।’
सन् १९४९ को जेनेभा महासन्धिअनुसार युद्धका क्रममा सर्वसाधारणको जीवनयापनका लागि अत्यावश्यक मानिने पूर्वाधारमा आक्रमण गर्न निषेध गरिएको छ।
ट्रम्पका अनुसार अमेरिकी वार्ताकारहरूले इरानी पक्षलाई ‘सम्झौतामा पुग्नैपर्छ’ भन्ने सन्देश दिएका छन्।
यता, इरानी सेनाले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले बहराइन र कुवेतस्थित हतियार तथा भण्डारण केन्द्रलाई पनि निशाना बनाएको जनाएको छ। कुवेतले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानी ड्रोन आक्रमणलाई प्रतिकार गरिरहेको र एक स्थानमा लागेको आगो नियन्त्रणमा लिइएको जनाएको छ।
पछिल्ला केही दिनयता बढेको तनावले गत महिना भएको समझदारीले स्थायी युद्धविराममा रूपान्तरण हुने सम्भावनामाथि थप शंका उत्पन्न गरेको छ। यस द्वन्द्वले इरानका छिमेकी मुलुकहरू मात्र होइन, विश्वव्यापी ऊर्जा आपूर्तिलाई समेत प्रभावित पारेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी क्षेप्यास्त्रहरूले बन्दर अब्बास र दक्षिणी इरानको सिरिक आसपासका क्षेत्रलाई पनि निशाना बनाएका छन्।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी दबाबका कारण वार्तामा नफर्किने स्पष्ट पार्दै भने, ‘सैन्य कारबाही र आर्थिक नाकाबन्दी कडा बनाउँदैमा इरान वार्तामा फर्किन्छ भन्ने अमेरिकाको सोच गलत हो।’
फेब्रुअरीमा युद्ध सुरु हुनुअघि विश्वभर ढुवानी हुने तेल तथा ग्यासको करिब २० प्रतिशत हिस्सा दैनिक रूपमा होर्मुज जलडमरूमध्यबाट ओसारपसार हुने गरेको थियो।