काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सर्दै नेपालको तराई भू–भाग नजिक रहेकाले अधिकांश क्षेत्रमा वर्षाको गतिविधि बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेशका अधिकांश स्थान, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थान, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यस्ता जोखिमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।