ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था घोषणा गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख चिरिबाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न छुटका योजना ल्याइएको बताए ।
महानगरका अनुसार आर्थिक वर्ष २०८३/८४ मा बुझाउनुपर्ने सम्पत्ति कर, भूमि कर र मालपोत असोज मसान्तभित्र बुझाएमा देय करमा १० प्रतिशत छुट दिइनेछ ।
महानगरमा दर्ता भएर नवीकरण हुन बाँकी रहेका उद्योग तथा व्यवसायले पुस मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरे आर्थिक वर्ष २०७३/७४ सम्मको व्यवसाय कर र बहाल करमा लागेको सम्पूर्ण जरिवाना मिनाहा हुनेछ । यस्तै, आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्मको व्यवसाय करमा लागेको जरिवानामा पनि शतप्रतिशत छुट दिइने महानगरले जनाएको छ । तोकिएको समयभित्र बक्यौता नतिरे भने यी सुविधा नपाइने र प्रचलित कानुनअनुसार जरिवानासहित कर असुल गरिने महानगरको भनाइ छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म व्यवसाय नवीकरण गर्ने व्यवसायीले नवीकरण शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् । चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण पेस गर्ने करदाताले सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाउने व्यवस्था पनि गरिएको छ ।
महानगरले सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरूको समूह तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न विद्युतीय सवारी प्रयोगकर्ताका लागि पनि विशेष सहुलियतको व्यवस्था गरिएको छ । सम्पत्ति कर बुझाउँदा सम्बन्धित करदाता वा निजको श्रीमान्/श्रीमतीको नाममा रहेको विद्युतीय सवारीको ब्लुबुक पेस गरे चालु आर्थिक वर्षको सम्पत्ति करमा थप १ प्रतिशत छुट दिइने महर्जनले बताए ।
महानगरले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ६८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । पुँजीगत खर्च ६०.४५ प्रतिशत, चालु खर्च ८३.२६ प्रतिशत र राजस्व संकलन ७५.३१ प्रतिशत रहेको महानगरको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणअनुसार बेरुजु ०.४४ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ अंक, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ अंक तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकनमा ७६.३२ प्रतिशत अंक प्राप्त भएको महानगरले जनाएको छ ।