काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारमा व्यापक पुनर्गठन गर्ने घोषणा गरेका छन्। उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई पदबाट हटाउने तथा केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव गरेका छन्। यद्यपि, स्विरिडेन्कोको स्थानमा कसलाई नियुक्त गरिनेछ भन्नेबारे उनले खुलाएका छैनन्। साथै, यी परिवर्तनको ठोस कारण पनि सार्वजनिक गरिएको छैन।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा स्विरिडेन्कोको कामको प्रशंसा गर्दै उनलाई सरकारबाहिर नयाँ र महत्वपूर्ण जिम्मेवारी दिने प्रस्ताव गरिएको बताएका छन्।
उनले भने, “म युलिया स्विरिडेन्कोलाई प्रधानमन्त्रीका रूपमा उहाँले गरेको स्पष्ट, स्थिर र प्रभावकारी नेतृत्वका लागि धन्यवाद दिन्छु। साथै, युक्रेनको टोलीमा उहाँले वर्षौंदेखि पुर्याएको योगदानको कदर गर्दै मुख्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्धित नयाँ तथा महत्वपूर्ण क्षेत्रमा नेतृत्व गर्ने अवसर प्रस्ताव गरेको छु।”
जेलेन्स्कीले संसदसँग समन्वय गरेर सरकारमा आवश्यक परिवर्तन अघि बढाइने उल्लेख गर्दै कानून प्रवर्तन निकायका नेतृत्वमा पनि फेरबदल हुने जानकारी दिएका छन्।
वक्तव्यमा उनले युक्रेनका प्राथमिकतामध्ये युरोपेली सङ्घ (ईयू) सदस्यताका लागि भइरहेको प्रगतिलाई तीव्र बनाउने, सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ गर्ने तथा विदेश नीतिका विभिन्न क्षेत्रहरूको जिम्मेवारी फरक–फरक व्यक्तिलाई दिने योजना रहेको बताएका छन्।
“यी लक्ष्य हासिल गर्न मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठानेका छौं, त्यसैले सरकारको पुनर्गठनको प्रक्रिया अघि बढाइएको हो,” जेलेन्स्कीले स्पष्ट पारे।
युक्रेनमा मन्त्रिपरिषद्को पुनर्गठनका लागि संसदको स्वीकृति आवश्यक पर्छ। तर, रुसले आक्रमण सुरु गरेयता अधिकांश सांसद जेलेन्स्कीको पक्षमा एकजुट रहँदै आएका छन्, जसका कारण उनका प्रस्तावहरू सामान्यतया सहज रूपमा पारित हुने गरेका छन्।