काठमाडौं । सुकुम्बासीमाथि सरकारले दमन गरेको भन्दै विभिन्न सुकुम्बासी संघ–संगठनले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालसहितका विभिन्न संघ–संगठनले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीले पीडा भोग्नुपरेको र विरोधमा उत्रिएकालाई नियन्त्रणमा लिइएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरिब सुकुम्बासीमाथि दमन गरेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलन गर्न बाध्य भएको बताए । सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै उनले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
‘गरिबलाई नजिस्का सरकार । गरिबलाई जिस्कायौ भने सरकारको आयु छोटिन्छ,’ परिश्रमीले भने, ‘व्यवस्थापन गर्न सक्छौ भने गर, सक्दैनौ भने हामी पुरानै थातथलोमा फर्किन्छौँ ।’
परिश्रमीले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको व्यवस्थापन प्रभावकारी नभएको आरोप लगाए । बाढीको जोखिम भएको स्थानमा राखिएको दाबी गर्दै उनले सुकुम्बासीको सुरक्षित व्यवस्थापन गर्न सरकारसँग माग गरे ।
प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुकुम्बासीमाथिको अन्याय अन्त्य गर्न, जनताको आवाज नदबाउन र गरिबमाथिको अन्याय रोक्न माग गरेका थिए ।
प्रदर्शनकारीले ‘सुकुम्बासी यहाँ छ, रवि–बालेन कहाँ छ ?’, ‘गरिबमारा सरकार–मुर्दावाद’ लगायतका प्लेकार्ड पनि बोकेका थिए ।