काठमाडौं । होर्मुज जलघाँटीमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले शनिबार इरानमाथि यसै साताको तेस्रो चरणको सैन्य हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सैन्य कारबाहीको पुष्टि गरेको हो ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै समझदारी ज्ञापनपत्र पालना गर्ने अवसर दिइए पनि इरान त्यसमा पुनः असफल भएको जनाएको छ ।
अमेरिकी सेनाले नागरिक तथा व्यावसायिक जहाजमाथि भइरहेका निरन्तर आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर पार्न लक्षित गर्दै सैन्य कारबाही गरिएको दाबी गरेको छ ।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दक्षिण इरानका विभिन्न सहरमा ठूला विस्फोटका आवाज सुनिएका छन् ।
यसैबीच, इरानले होर्मुज जलघाँटी तत्कालका लागि बन्द गरिएको घोषणा गरेको छ । अनुमति नलिई सञ्चालन भएको र समुद्री सुरक्षामा खतरा उत्पन्न गराएको भन्दै एक जहाजमाथि प्रहार गरिएको इरानी पक्षको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले जारी गरेको विज्ञप्तिमा आफ्नो पहिचान प्रणाली बन्द गरेर समुद्री सुरक्षामा जोखिम उत्पन्न गराएको जहाजलाई प्रहार गरी रोकिएको उल्लेख गरिएको छ ।
इरानले अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म जलसन्धि बन्द रहने चेतावनी दिएको छ । साथै, यस घटनालाई लिएर हुने कुनै पनि जवाफी कारबाहीको कडा प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।
यता, युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले शनिबार ढिलो गरी ओमानको तट नजिकै एक कन्टेनर जहाजमा क्षति पुगेपछि आगलागी भएको जनाएको छ ।
होर्मुज जलघाँटीमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय समुद्री व्यापार र क्षेत्रीय सुरक्षाप्रति गम्भीर चासो बढाएको छ ।