काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ महिनायताकै न्यून बिन्दुमा झरेको छ । निरन्तर ओरालो लागेको बजार २६०० अंकको आसपासमा झरेसँगै लगानीकर्तामा निराशा बढेको देखिएको छ । नयाँ सरकार गठन, बजेट र मौद्रिक नीतिमार्फत शेयर बजारसम्बन्धी केही सकारात्मक व्यवस्था गरिए पनि त्यसको प्रभाव बजारमा देखिन सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकार गठनअघि शेयर बजारप्रति लगानीकर्ताको अपेक्षा उच्च थियो । रास्वपाले निर्वाचनअघि सार्वजनिक गरेको वाचापत्रमा पनि शेयर बजारमैत्री नीति ल्याउने प्रतिबद्धता जनाएको थियो । तर सरकार गठनसँगै बजारले भने लगातार ओरालो यात्रा समातेको छ ।
बालेन सरकारले शपथ लिनुअघि चैत १२ गते नेप्से परिसूचक २९५०.१६ अंकमा रहेको थियो । त्यसयता बजार करिब ३५० अंकले घटेर २६०० को बिन्दुमा आइपुगेको छ । छ महिनाको अवधिमा नेप्से उच्चतम २ हजार ९ सय ७० अंकसम्म पुगे पनि त्यसपछि बजार लगभग निरन्तर घट्दो क्रममा रहेको देखिन्छ । यसअघि गत पुस ९ गते नेप्से २५९७ अंकमा बन्द भएको थियो ।
बजेटपछि पनि फर्किएन बजार
सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत लगानीकर्ताको लामो समयदेखिको माग सम्बोधन गर्दै पुँजीगत लाभ करलाई अन्तिम करका रूपमा व्यवस्था गरेको थियो । बजेटमा शेयर बजार सुधारका लागि नेप्सेको पुनर्संरचनादेखि गैरआवासीय नेपाली (एनआरएन)लाई बजारमा आकर्षित गर्ने लगायत १० वटा नीति समेटिएका थिए ।
यद्यपि बजेट सार्वजनिक भएपछि बजारले अपेक्षित प्रतिक्रिया दिन सकेन । बजेटअघि जेठ १३ गते नेप्से २७८२ अंकमा बन्द भएको थियो । जेठ १५ गते बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिनमै परिसूचक २६.७२ अंकले घटेर २७५५ अंकमा झरेको थियो । त्यसयता मात्रै नेप्से ८६ अंकले घटेको छ ।
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार बजेटमा सकारात्मक व्यवस्था भए पनि व्यवसायीमाथिको धरपकडका कारण लगानीकर्तामा अन्योल सिर्जना भयो । त्यसले विशेषगरी ठूला लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको उनको भनाइ छ ।
मौद्रिक नीतिले पनि फर्काउन सकेन बजार
बजेटपछि लगानीकर्ताको ध्यान नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतितर्फ केन्द्रित भएको थियो । तर शेयर बजारलाई
प्रत्यक्ष उत्साहित पार्ने नयाँ व्यवस्था मौद्रिक नीतिमा समेटिएन ।
राष्ट्र बैंकले राम्रो नेटवर्थ र वित्तीय अवस्था भएका कम्पनीको शेयर धितोमा बढी कर्जा पाइने व्यवस्था गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले असार २३ गते सार्वजनिक गरेको मौद्रिक नीतिपछि ३ दिन मात्र शेयर कारोबार भएको छ । तर लगातार ३ दिन नै नेप्से घटेको छ । मौद्रिक नीति सार्वजनिक भएयता मात्रै बजार ५१ अंकले ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपालका अनुसार नेपाली शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ठूलो भएकाले राष्ट्र बैंकका नीतिले बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । राम्रो वित्तीय अवस्था भएका कम्पनीको शेयर धितोमा मात्रै बढी कर्जा पाइने व्यवस्थाले पनि बजारमा प्रभाव परेको उनको भनाइ छ ।
पाही इन्भेष्टमेण्ट प्रालि (ब्रोकर नम्बर ७९) का प्रमुख कार्यकारी अधिकृत कमल धितालका अनुसार लगानीकर्ताले बजेटपछि मौद्रिक नीतिबाट थप सकारात्मक व्यवस्था आउने अपेक्षा गरेका थिए । तर मौद्रिक नीतिमा शेयर बजारका लागि उल्लेखनीय व्यवस्था नआएकाले लगानीकर्ता अहिले धितोपत्र बोर्डको निर्णयतर्फ केन्द्रित भएका छन् ।
नेप्सेको प्रवृत्ति हेर्दा पनि यो धारणा मेल खाने देखिन्छ । बजेटअघि र मौद्रिक नीति सार्वजनिक हुनुअघिल्लो दिनसम्म उतारचढावका बीच नेप्से जम्मा २१ अंकले मात्रै घटेको थियो । तर मौद्रिक नीति सार्वजनिक भएयता ३ कारोबार दिनमै परिसूचक ५१ अंकले घटेको छ ।
नेपाल शेयरधनी संघका अध्यक्ष पाण्डेले भने अहिलेको गिरावटको कारण मौद्रिक नीति मात्रै नभएको बताए । उनका अनुसार नेप्से २६०० अंकको आसपासमा झरेपछि केही लगानीकर्ताले स्टप लस गर्न थालेका छन् । असार मसान्तको सेटलमेन्ट, बिक्रीको दबाब र ब्रोकरले लिमिट नदिएको अवस्थाले पनि बजारमा थप दबाब परेको उनको भनाइ छ । साथै शेयर बजार धेरै हदसम्म हल्लाको प्रभावमा चल्ने भएकाले पनि अहिलेको अवस्था सिर्जना भएको उनले बताए ।