काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी क्षेत्रमा नेपालको तराई नजिक अवस्थित छ।
यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेशका अधिकांश स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली रहने अनुमान छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसबाहेक, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा मधेस प्रदेशसहित ती प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।