काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट स्थानान्तरण गरी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारको आश्रयस्थलमा बाढी पसेपछि त्यहाँ बस्दै आएका परिवारहरू समस्यामा परेका छन् । सरकारको १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको तथा असुरक्षित स्थानमा राखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
पीडितका अनुसार शुक्रबार मध्यराति करिब १२ः४० बजेदेखि होल्डिङ सेन्टरमा बाढी पस्न थालेको थियो । अचानक पानी पसेपछि त्यहाँ रहेका बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी थप जोखिममा परेका छन् ।
पीडित दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी सामान्य राहत वितरणमै सीमित भएको आरोप लगाए । आफूहरूलाई पहिले बसोबास गरेको स्थानमा समेत जान नदिइएको उनको गुनासो छ ।
उनले भने, ‘यो खालको बर्बरता कहिलेसम्म ? हामी अब मर्ने बेला भइसक्यो, सेरिने बेला भइसक्यो, हाम फाल्ने बेला भइसक्यो नदीमा । निमोनियाका बिरामी, मिर्गौलाका रोगी आमा, दिदीबहिनीहरू हुनुहुन्छ। आफन्तलाई भेट्न पनि दिइरहेको छैन ।’
स्थानीय पीडित कान्छीमाया घलानका अनुसार सुतिरहेको अवस्थामा अचानक बाढी पसेपछि लत्ताकपडा र खाद्यान्न जोगाउनसमेत मुस्किल भएको थियो । उनका अनुसार अधिकांश परिवारको ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोग्य सामग्री भिजेर नष्ट भएका छन् ।
उनले बाढी पस्दा छाता र हातमा रहेको मोबाइलबाहेक अन्य सामान निकाल्न नसकेको बताइन् । उद्धारका लागि सुरक्षाकर्मीहरू राति करिब ३ बजे मात्रै आइपुगेको उनको भनाइ छ ।
उनले भनिन्, ‘हामीलाई पनि बाँच्ने इच्छा छ । हाम्रा पनि बालबच्चा छन् । सरकारले हाम्रो समस्या बुझेन । हामी कुकुर–बिरालो होइनौँ । हामी कसैको लालपुर्जा भएको जग्गा मिचेर घर बनाएर बसेका थिएनौँ ।’
अर्की एक पीडितले १५ दिनका लागि भन्दै स्थानान्तरण गरिए पनि तीन महिनासम्म उचित व्यवस्थापन नभएको भन्दै सरकारप्रति असन्तुष्टि जनाइन् । सरकारले आफूहरूमाथि अन्याय गरेको उनको आरोप छ ।
उनले भनिन्, ‘यो सरकारले गर्दा हाम्रो जीवन नै बर्बाद हुने भयो । सरकारमा भएकाहरू पनि एक दिन मर्नुपर्छ भन्ने हेक्का सरकारले राखोस् । हामीलाई ढाँटीढाँटी किन यस्तो गरेको ?’
अर्का पीडित डम्बर तामाङले बाढीका कारण करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताए । चप्पलसमेत बग्दा बालबालिकाले खाली खुट्टै हिँड्नुपरेको उनले सुनाए ।
उनले भने, ‘सामान निकाल्नसमेत पाइएन, सबै हिलोले पुरियो । सुरक्षाकर्मीहरू उद्धारका लागि समयमा आइपुगेनन्, हामी आफैँले ज्यान जोगायौँ ।’
पीडितहरूका अनुसार होल्डिङ सेन्टरमा मुटु, मिर्गौला तथा दमका बिरामीसमेत रहेका छन् । चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था थप जोखिममा परेको उनीहरूको भनाइ छ । उनीहरूले १५ दिनका लागि भन्दै स्थानान्तरण गरिए पनि तीन महिनासम्म कुनै दीर्घकालीन व्यवस्थापन नभएको तथा सुरक्षाकर्मीहरूले बाहिर निस्कनसमेत अवरोध गरेको गुनासो गरेका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरेका छन् । उनले प्रभावित परिवारका लागि खाना, डस्ना, ब्ल्याङ्केट तथा स्वास्थ्य सेवाको व्यवस्था भइरहेको बताए ।
उनले भने, ‘बाढीले समस्या निम्त्याएको सत्य हो । राज्यले यसको जिम्मेवारी लिनुपर्छ । हामी अहिले तत्कालका लागि आधारभूत आवश्यकता पूरा गर्न र दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्न केन्द्रित छौँ ।’
वर्षायाममा सुरक्षित आवासको अभाव झेलिरहेका विस्थापित सुकुम्बासी परिवारहरूले तत्काल सुरक्षित आवास, क्षतिको क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् ।