जनकपुर । मिटरब्याजविरुद्धको किसान–मजदुर आन्दोलनले जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु गरेको छ । साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्यायको माग गर्दै पीडितहरू काठमाडौंसम्म पैदल यात्रा गर्न निस्किएका हुन् ।
जनकपुरधामस्थित तिरहुतिया गाछीबाट बिहीबार शुरु भएको मार्चको उद्घाटन गर्दै आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले नक्कली कागजातको सहारामा अदालती प्रक्रियामार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए ।
उनले भने, ‘फर्जी तमसुकमार्फत किसानको जग्गा हडप्ने र उनीहरूलाई आफ्नै भूमिबाट बेदखल गर्ने प्रक्रिया तीव्र पारिएको छ ।’
कार्यक्रममा अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम नगरेको आरोप लगाए। सरकारले पीडितका समस्या समाधानमा चासो नदेखाएकाले पुनः जनकपुरधामबाट पैदल यात्रा सुरु गरिएको उनको भनाइ थियो ।
नवीनका अनुसार यसपटकको न्याय मार्च काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्दै सरकारसमक्ष पीडितका माग राख्ने लक्ष्य राखिएको छ ।
मार्च शुरु गर्नुअघि पीडितहरूले मशाल जुलुस प्रदर्शन गरेका थिए। उनीहरूले प्रतीकात्मक रूपमा फर्जी तमसुक जलाउँदै आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनकारीले साहु–महाजनको शोषणबाट मुक्ति र फर्जी तमसुक खारेजीलाई आन्दोलनका मुख्य माग बनाएका छन् ।