काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउन माग गर्नेहरूले त्यसको वैकल्पिक स्रोतबारे पनि स्पष्ट सुझाव दिनुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कर संकलनबिना राज्य सञ्चालन सम्भव नरहेको बताए। कर हटाउनुपर्ने मागसँगै राज्यले राजस्व कहाँबाट उठाउने भन्ने व्यवहारिक विकल्प पनि प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरे।
सरकारले नागरिकलाई प्रत्यक्ष असर पर्ने गरी कर नलगाएको दाबी गर्दै उनले सरकारको लक्ष्य प्रतिस्पर्धा बढाउने, उत्पादन लागत घटाउने र भौतिक पूर्वाधार विकासमार्फत उपभोक्ताले तिर्नुपर्ने मूल्य कम गर्ने रहेको बताए।
‘कर नै नउठाईकन राज्य चल्दैन, कहीँ त उठाउनुपर्यो । माननीयज्यूहरुलाई मेरो विनम्र अनुरोध छ, कर उठाउँन हुँदैन्थ्यो भन्दै गर्दा कहाँ उठाउनुपर्ने हो, त्यो पनि सुझाव दिनुहोला, सुझाव चाँही त्यस्तोमा आयो भने राम्रो होला,’ उनले भने।
करसम्बन्धी व्यवहारिक र वैकल्पिक सुझाव आए सरकारले त्यसलाई सम्बोधन गर्न तयार रहेको उल्लेख गर्दै वाग्लेले आगामी आर्थिक विधेयकमा पनि यस्ता सुझाव समेट्न सकिने बताए।
उनले दूरसञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उठाइने कर दुर्गम क्षेत्रमा सोही क्षेत्रको पूर्वाधार निर्माणका लागि प्रयोग गरिने पनि जानकारी दिए।