काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिममा रहेको बताएका छन् ।
राष्ट्रिय सभामा शनिवार सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्न आवश्यक रहेको बताएका हुन् । २०८१ फागुनदेखि नेपाल ग्रे लिष्टमा रहेको उल्लेख गर्दै उनले तदारुकताको साथ आवश्यक सुधार र सुशासनका कामलाई तिब्रता दिन नसके मुलुक ब्ल्याक लिष्टमा पुग्न सक्ने बताए । अर्थमन्त्री वाग्लेले ब्ल्याक लिष्टमा परेमा नेपाल सोमालिया, हाईटी जस्तो मुलुकको दर्जामा पुग्ने बताए । नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोले यो विधेयक ल्याइएको उनले बताए । कानूनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक ग्रे लिष्टमा परेको उनले उल्लेख गरे ।
उनले भने, ‘मुलुक २०८१ फागुनदेखि ग्रे लिष्टमा छ, अहिले सेन्स अफ अर्जेसन्सीको साथ, तदारुकताका साथ हामीले काम गर्न सकेनौ भने हामी ब्ल्याक लिष्टतिर झर्दैछौँ र ब्ल्याक लिष्टमा झर्नु भनेको बाँकी दुनियाँसग हाम्रो तमाम वित्तिय सम्बन्धहरु टुट्नु हो । रेमिट्यान्समा आश्रित देशमा विदेशी लगानी ल्याउनुपर्नेछ, हाम्रो साखलाई माथी उकास्नु छ, हामी गर्नुपर्ने सुशासनका नियमित कर्महरु नगरी सुशासनमा चुक्दाखेरी हामी हाईटी, सोमालियाजस्ता मुलुकहरुको दर्जामा झर्ने जोखिम प्रवल हुँदै गईरहेको छ । २०८१ फागुनदेखिको यो कलंक हामी मेटाउन खोज्दैछौँ ।’
उनले वर्तमान सरकार सुशासनसम्बन्धी कार्यमा निर्मम भएर लागेको बताए । सम्पत्ति शद्धिकरणसम्बन्धी मुद्दालाई प्रतिशोधको हतियार आफूहरुले नबनाउने पनि उनको भनाई छ । वर्तमान सरकार निर्माण भएपछि मुलुकलाई ग्रे लिष्टबाट निकाल्न उल्लेख्य प्रगति भएको उनको दाबी छ ।