काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६८औँ वार्षिकोत्सवको अवसरमा लेखापरीक्षणबाट लगती बेरुजु नभएका तीन स्थानीय तहलाई सम्मान गरेको छ।
सम्मानित हुने स्थानीय तहमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित महाभारत गाउँपालिका, गण्डकी प्रदेशको पर्वतस्थित महाशीला गाउँपालिका र लुम्बिनी प्रदेशको गुल्मीस्थित धुर्कोट गाउँपालिका रहेका छन्।
यस अवसरमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, महाशीला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाल तथा धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेललाई सम्मान प्रदान गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
त्यसैगरी, लेखापरीक्षण क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरूलाई लेखापरीक्षण पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा पूर्वउपलेखापरीक्षक पद्यमदयाल वादे श्रेष्ठलाई लेखापरीक्षण क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै दीर्घजीवी लेखापरीक्षण सम्मान प्रदान गरिएको थियो।