काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा १८८ जनाको मृत्यु भएको छ । भत्किएका भवनको भग्नावशेषमुनि थुनिएका नागरिकलाई जीवितै उद्धार गर्न उद्धारकर्मी र सर्वसाधारणहरूले प्रयास तीव्र पारेका छन् ।
उत्तरी भेनेजुएलालाई केन्द्रविन्दु बनाएर गएका ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र सहयोगको प्रतिबद्धता ओइरिएको छ ।
बुधबारको यस प्राकृतिक विपत्तिका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले दुई देशबीचको नवीकृत सम्बन्धको स्वागत गरेका छन् ।
सन् २०१९ मा ट्रम्प प्रशासनले तत्कालीन विपक्षी नेता जुआन गुआइडोलाई देशको वैध राष्ट्रपतिका रूपमा मान्यता दिने निर्णय गरेपछि भेनेजुएलाले अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो ।
अहिले राजनीतिक परिदृश्य बदलिएको छ र तत्कालीन राष्ट्रपति निकोलस मादुरो सत्तामा छैनन् । ट्रम्पसँगको लामो राजनीतिक टकरावपछि गत जनवरी ३ मा अमेरिकी सैन्य अपरेसनका क्रममा मादुरो अपहृत भएका थिए ।
मादुरोको बहिर्गमनपछि देशको कमान्ड सम्हालेकी तत्कालीन उप(राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिका रूपमा सपथ लिएकी थिइन् । राष्ट्रपति ट्रम्पले रोड्रिगेजसँगको हालको सम्बन्धलाई अन्तर्राष्ट्रिय समन्वयको एक उत्कृष्ट नमूनाका रूपमा प्रशंसा गरेका छन् ।
रोड्रिगेजले आफ्ना मागहरू पालना नगरेमा ट्रम्पले थप सैन्य कारबाहीको धम्की दिएको भन्दै आलोचकहरूले यसको विरोध पनि गर्दै आएका छन् ।विपत्तिका बाबजुद दुवै नेताले सामाजिक सञ्जालमार्फत आपसी ऐक्यबद्धता प्रकट गरेका छन् ।
अन्तरिम राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेकी छन्, ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनलाई धन्यवाद दिन्छौँ, जसले यस शोकको घडीमा भेनेजुएलाका जनतालाई सहयोग र सहानुभूति प्रकट गर्दै यहाँका अधिकारीसँग निरन्तर सम्पर्कमा रहनुभएको छ ।’