अमेरिका। अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो पहिलो पटक हो । यस कदमलाई ट्रम्प प्रशासनको युद्ध व्यवस्थापन पद्धतिप्रति बढ्दो राजनीतिक विरोधको सङ्केतका रूपमा हेरिएको छ । इरान सैन्य शक्ति नियन्त्रण सम्बन्धी उक्त प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । मतदानका क्रममा चार जना रिपब्लिकन सिनेटरहरूले विपक्षी डेमोक्र्याट सदस्यहरूलाई साथ दिएका थिए भने एक जना डेमोक्र्याट सदस्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । कङ्ग्रेसको वेबसाइटमा प्रकाशित विधेयकको सारअनुसार यस प्रस्तावले युद्धको औपचारिक घोषणा वा सैन्य बल प्रयोगका लागि विशेष कानूनी अनुमति नभएसम्म राष्ट्रपतिलाई अमेरिकी सशस्त्र सेनालाई इरानविरुद्धका शत्रुतापूर्ण गतिविधिबाट फिर्ता बोलाउन निर्देशन दिन्छ । यसका साथै, उक्त प्रस्तावले युद्धको घोषणा गर्ने र सैन्य द्वन्द्व शुरु गर्ने कङ्ग्रेसको संवैधानिक अधिकारलाई समेत पुनः पुष्टि गरेको छ । प्रस्तावका समर्थकहरूले इरानविरुद्धको वर्तमान संघर्ष अनधिकृत र ‘इच्छाधीन युद्ध’ (वार अफ च्वाइस) भएको तर्क गर्दै आएका छन् ।