काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
यसको प्रभावले बिहीबार बिहान काठमाडौँसहित बागमती प्रदेशका केही स्थानका साथै कोशी र मधेसका एक-दुई स्थानमा वर्षा भएको छ। विभागका अनुसार झापाको बाहुन डाँगीमा ७१ मिलिमिटर, मोरङको सकफरामा ६२.२ मिलिमिटर, गोरखामा ७१ मिलिमिटर वर्षा मापन भएको छ।
अन्य स्थानमा मध्यमसम्मका वर्षा भएको छ। बिहीबार दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी र मधेश प्रदेशको तराईका पनि एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा भने तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार राति कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।