काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा बसेर अनलाइनमार्फत ‘ब्ल्याकमेलिङ’ र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट २५ वर्षीय एमडी मजिदुल इस्लाम रिदोयसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरू ठमेलको पकनाजोलस्थित ‘होटेल एस’को चौँथो, पाँचौँ र छैटौँ तल्लाका कोठा भाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरूले विदेशी मोडल तथा युवतीका नाममा फेसबुकमा नक्कली खाता बनाएर बंगलादेशी र भारतीय नागरिकलाई साथी बनाउने तथा कुराकानी गर्ने र ठगी गर्ने गरेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनीहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । पक्राउ परेका सबैलाई अध्यागमन ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ ।