काठमाडौँ। पश्चिम नेपालका ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रभावकारी रूपमा जोड्ने उद्देश्यसहित ४०० केभी स्तरको वेस्ट सेती प्रसारण लाइन आयोजना सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाइएको छ ।
यसका लागि विशेष प्रयोजन कम्पनी (एसपीभी) का रूपमा ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ स्थापना गरिएको छ, जसले आयोजनाको कार्यान्वयन, लगानी व्यवस्थापन तथा समन्वयको जिम्मेवारी लिनेछ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) ले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया समेत सम्पन्न भएको जनाइएको छ ।
करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी संरचनामा निर्माण गरिनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रसारण पूर्वाधारलाई ऊर्जा प्रणालीको ‘लाइफलाइन’ का रूपमा विकास गर्दै निजी क्षेत्रसँगको साझेदारीलाई प्रसारण क्षेत्रतर्फ विस्तार गरिएको हो । मन्त्रालयले यस किसिमको मोडेलले ऊर्जा पूर्वाधार विकासमा नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय का प्रतिनिधिहरूले पीपीपी मोडेलले समावेशी विकास र पूर्वाधार विस्तारलाई गति दिने धारणा व्यक्त गरेका छन् । विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको र प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय हुने जनाइएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का प्रमुख कार्यकारी अधिकृतका अनुसार जग्गा प्राप्ति, राइट अफ वे तथा वन क्षेत्रसँग सम्बन्धित स्वीकृतिहरू पूरा भएपछि निर्माण कार्य तीव्र रूपमा अघि बढाइनेछ ।
आयोजनामा सरकार पक्षको ५१ प्रतिशत स्वामित्व रहनेछ । यसअन्तर्गत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड को २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड को १२.५ प्रतिशत र चैनपुर सेती हाइड्रोपावर कम्पनी लिमिटेड को १२.५ प्रतिशत लगानी रहने व्यवस्था छ ।
निजी क्षेत्रतर्फ समृद्धि इनर्जी लिमिटेड को २५.१ प्रतिशत, ङादी ग्रुप पावर लिमिटेड को ७ प्रतिशत र स्युरी ङादी पावर लिमिटेड को ६.९ प्रतिशत सेयर रहनेछ भने बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको बनलेक हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका-२ स्थित दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ ।
चैनपुरमा १६० एमभीए र बनलेकमा ३१५ एमभीए क्षमताका सबस्टेसन निर्माण हुनेछन् । प्रारम्भिक सर्वेक्षण तथा जग्गा पहिचान कार्य सम्पन्न भइसकेको छ भने आयोजनाको निर्माण अवधि पाँच वर्ष निर्धारण गरिएको छ ।
यो प्रसारण लाइनमार्फत पश्चिम सेती (७५० मेगावाट), सेती नदी-६ (४५० मेगावाट), अपर सेती (१७० मेगावाट) लगायत परियोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ ।
करिब २५ सय मेगावाटसम्म विद्युत् प्रवाह तथा निर्यात क्षमता विकास गर्ने लक्ष्यसहित यो आयोजना ऊर्जा सुरक्षा, सीमापार विद्युत् व्यापार र राष्ट्रिय प्रसारण प्रणालीको विश्वसनीयता सुदृढ गर्ने दिशामा महत्वपूर्ण मानिएको छ ।
नेपालमा पीपीपी मोडेलमा विकास हुँदै गरेका प्रमुख उच्च भोल्टेज प्रसारण पूर्वाधारमध्ये एकका रूपमा यसलाई रणनीतिक कोसेढुंगा परियोजना मानिएको छ । वेस्ट सेती ट्रान्समिसन लिमिटेड १३ जेठ २०८३ मा औपचारिक रूपमा दर्ता भइसकेको र आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि निर्माण चरण अघि बढाइने जनाइएको छ ।