काठमाडौँ । सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब २१ प्रतिशतले वृद्धि गरेको छ। साथै, मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारी र शिक्षकको तलबमान २१ प्रतिशतले बढाइएको जानकारी दिएका हुन्। उनका अनुसार नयाँ तलबमान आगामी साउन १ गतेदेखि लागू हुनेछ।
तलब वृद्धिपछि सरकारी कर्मचारीको न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँ पुग्ने भएको छ भने उच्च तहका कर्मचारीको तलब एक लाख रुपैयाँभन्दा माथि पुग्नेछ। नयाँ तलबमान अनुसार विभिन्न पदका कर्मचारीको पारिश्रमिक पुनर्निर्धारण गरिनेछ।
सरकारले यसअघि आर्थिक वर्ष २०७९/८० मा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो। त्यसयता तलबमानमा वृद्धि गरिएको थिएन। चालु आर्थिक वर्ष २०८२र८३ देखि भने कर्मचारीलाई मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराइँदै आएको छ।
तलब तथा सेवा–सुविधा पुनरावलोकनका लागि गठित समितिले दिएको सुझावका आधारमा नयाँ तलबमान निर्धारण गरिएको जनाइएको छ। समितिले राजस्व वृद्धिदर, दरबन्दी संख्या, मूल्यवृद्धि तथा महँगी भत्तालगायतका सूचकलाई आधार बनाएर तलब तथा सुविधाको पुनरावलोकन गर्न सुझाव दिएको थियो।
हाल मुख्यसचिवको मासिक तलब ७७ हजार २११ रुपैयाँ, सचिवको ७२ हजार ८२ रुपैयाँ, सहसचिवको ५६ हजार ७३७ रुपैयाँ, उपसचिवको ४८ हजार ७३७ रुपैयाँ, शाखा अधिकृतको ४३ हजार ६८९ रुपैयाँ, नायब सुब्बाको ४३ हजार ३८९ रुपैयाँ तथा कार्यालय सहयोगीको २७ हजार ६१२ रुपैयाँ रहेको छ। वृद्धि गरिएको २१ प्रतिशत तलब दर साउनदेखि लागू भएपछि यी तलबमानमा समेत वृद्धि हुनेछ।
तलब वृद्धि कार्यान्वयनसँगै शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरकारी सेवाका कर्मचारी लाभान्वित हुनेछन्। अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारीको पेन्सनमा समेत यसको प्रभाव पर्नेछ।