काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदी बन्दी बाहिर पठाइएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता देखिएको उल्लेख गर्दै विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा उक्त घटनासम्बन्धी अनुसन्धानको दायरामा नख्खु कारागारका प्रशासक सत्यराज जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र हरि ढकाललाई समेत ल्याउनुपर्ने उल्लेख गरिएको छ।
प्रतिवेदन अनुसार कारागार तथा बाल सुधार गृहमा रहेका कैदी बन्दी र बालबिज्याइँकर्तालाई बाहिर पठाउन सहयोग गरिएको घटनामा सम्बन्धित व्यक्तिहरूको भूमिका देखिएको आयोगको निष्कर्ष छ। यसबाट आम नागरिकको मानवअधिकार उल्लंघन हुने अवस्था सिर्जना भएको आयोगले उल्लेख गरेको छ।
आयोगले कारागार प्रशासक सत्यराज जोशी र रवि लामिछानेसँग गरिएको सोधपुछका क्रममा उनीहरूको बयानमा असंगति देखिएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ। त्यसैले घटनाको यथार्थ पत्ता लगाउन थप सूक्ष्म अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाउन आयोगले सिफारिस गरेको जनाएको छ।