काठमाडौँ । डाबर ब्रान्डको मह तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त उत्पादन न्यून स्तरको पाइएपछि फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले २०८३ जेठ ५ गते जारी गरेको ‘खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेश’ मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३६(२) बमोजिम सम्बन्धित ब्याचको मह बजारबाट तत्काल फिर्ता गर्न भनिएको छ ।
त्यस्तै, सोही ऐनको उपदफा (४) बमोजिम उक्त उत्पादन बिक्री-वितरण नगर्न तथा नगराउन पनि विभागले निर्देशन दिएको छ ।
आदेशअनुसार फिर्ता गर्न भनिएको उत्पादन डाबर ब्रान्डको ५०० ग्राम मह हो । यसको ब्याच नम्बर एनबी००४७७ रहेको छ ।
परीक्षणमा ‘न्यून स्तर खाद्य पदार्थ’ को रूपमा पुष्टि भएको उक्त उत्पादक कम्पनी डाबर नेपाल प्रा.ली., जीतपुर सिमरा-२३, बारा उल्लेख गरिएको छ ।
आदेशमा सम्बन्धित उत्पादन तत्काल बजारबाट हटाउन र बिक्री–वितरण रोक्न निर्देशन दिइएको छ ।