काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घटनाबाट करिब ७७ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश घटना आगलागीसँग सम्बन्धित रहेका छन् । झापाको मेचीनगर, मोरङको बुढीगंगा, दाङको घोराही, धनुषा र बारामा आगलागीका घटना हुँदा घर, पसल, फार्म तथा सवारीसाधनमा क्षति पुगेको छ ।
प्राधिकरणका अनुसार अछामको मंगलसेन नगरपालिका–१३ मा आगोले जलेर गम्भीर घाइते भएकी २ वर्षीया बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको छ ।
त्यस्तै, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फुलबारी पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि पुगेकी जुम्लाकी २४ वर्षीया महिलाको लेक लागेर मृत्यु भएको छ ।
उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जनाइएको छ । सोही क्षेत्रमा अर्का एक पुरुष पनि लेक लागेर बिरामी परेका छन् ।
बाराको कोल्हवी नगरपालिका–१ मा घरअगाडि खेलिरहेका २ वर्षीय बालकलाई सर्पले डस्दा उपचारका क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको छ ।
यसैबीच, भोजपुरमा घाँस काट्ने क्रममा सर्पदंशबाट एक जना घाइते भएका छन् भने कञ्चनपुरको कृष्णपुरमा सामुदायिक वनका चौकीदारलाई बाघले आक्रमण गरी घाइते बनाएको प्राधिकरणले जनाएको छ ।
बाराको जितपुरसिमरा–२१ आधाभार जंगल क्षेत्रमा दाल बोकेको ट्रकमा तार सर्ट भएर आगलागी हुँदा २१ टन दालसहित ट्रक आंशिक रूपमा जलेको छ । उक्त घटनाबाट मात्रै करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
काठमाडौँको तिनचुलीस्थित एक खाजाघरमा ग्यास लिक भएर आगलागी हुँदा एक महिला घाइते भएकी छन् । डडेल्धुराको अजयमेरु गाउँपालिकामा वन डढेलो विद्यालय परिसरमा फैलिँदा पोलिहाउसहरू नष्ट भएका छन् ।