काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही बनेकी छन् । उनले आइतबार ( मे १७ तारिख ) बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् ।
सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल भएकी छन् ।
पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन् । साथै उनले मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालकोसमेत सफल आरोहण गरिसकेकी छन् ।
रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही कार्की राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी छन् ।
सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।