काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधरणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधरणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका केही तथा तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधरणतया बदली रहने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।