कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ । इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–८ स्थायी घर भएका थापा हाल शिवराज नगरपालिका–३ मदवामा बस्दै आएका थिए । करेन्ट लागेपछि थापा गम्भीर घाइते भएका थिए ।
स्थानीयवासी र सहकर्मीले तत्काल उद्धार गरी उपचारका लागि बुद्ध पोलिक्लिनिक खरेन्द्रपुर पुर्याएका थिए । त्यहाँ सामान्य उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।
बुटवलस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए । घटनापछि मृतकका परिवार तथा आफन्तले घटनाको सत्यतथ्य छनबिनको माग गरेका छन् ।