भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले एक केजी ५८८ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ताथलीमा खटिएका प्रहरी टोलीले आज बनेपाको नालाबाट ताथली हुँदै च्यामासिंहतर्फ आउँदै गरेको बागमती प्रदेश ३ ०२ ०१२ प ४३६४ नंं को मोटरसाइकललाई जाँच गर्ने क्रममा प्रहरीले चाँदीसहित सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–१० घर भई हाल बनेपा नगरपालिका–८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेतलाई पक्राउ गरेको हो ।
भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश जवेगुले पक्राउ परेका स्वेतलाई सवारीसाधनसहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगाती भक्तपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।यसैगरी, आजै चाँगुनारायण नगरपालिका–१ स्थित सरस्वती खेलमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
बा८९प ६६९७ नं। को मोटरसाइकलमा सवार दुई जनालाई आठ दशमलव ५५ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जवेगुले जानकारी दिए ।
लागु औषधसहित पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल सूर्य विनायक नगरपालिका–७ गुण्डु बस्ने ३२ वर्षीय केदार कठायत र सिराहा बरियारपट्टी गाउँपालिका–२ घर भई हाल चाँगुनारायण नगरपालिका–३ बस्ने २१ वर्षीय ओमशंकर सिंहल रहेका छन् ।