काठमाडौँ – तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाले बाँदरको बढ्दो समस्या नियन्त्रणका लागि आगामी जेठ १ गते नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले कृषियोग्य जमिन र उत्पादनमा बाँदरबाट भइरहेको क्षति न्यूनीकरण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ। नगर प्रमुख अर्जुन माबोहाङका अनुसार कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा अन्य कृषि उपजमा बाँदरले निरन्तर क्षति पुर्याउन थालेपछि विशेष अभियान सञ्चालन गर्नुपरेको हो।
उनले बाँदरको आतंकका कारण किसान आर्थिक रूपमा प्रभावित हुनुका साथै खेतबारी जोगाउन रातदिन निगरानी गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन लाग्नुपर्ने स्थिति देखिएकाले सामूहिक पहल आवश्यक भएको उनको भनाइ छ।
नगरपालिकाद्वारा जारी सूचनामा बाँदर समस्या सामान्य देखिए पनि यसले कृषकको जीविकोपार्जन, पारिवारिक दैनिकी र बालबालिकाको शिक्षामा गम्भीर असर पारेको उल्लेख गरिएको छ।
पालिकाले जेठ १ र २ गते सामूहिक रूपमा बाँदर लखेट्ने कार्यक्रम तय गरेको छ। अभियान सफल बनाउन वडा कार्यालयहरूले तोकेको समय र स्थानमा उपस्थित भई सहभागिता जनाउन कृषक, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दालाई आह्वान गरिएको छ।
यसका साथै बाँदर नियन्त्रणका लागि विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी हेरालु परिचालन गरिएको नगरपालिकाले जनाएको छ। वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को नागेश्वरी क्षेत्र तथा वडा नम्बर ५ को सिंहथाप पुछारमा निगरानीका लागि जनशक्ति खटाइएको छ। हाल चार जना हेरालु बाँदर नियन्त्रण कार्यमा परिचालित रहेको जनाइएको छ।
पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा बाँदरबाट हुने कृषि क्षति बढ्दो क्रममा रहेको छ। विशेषगरी मकै, आलु, फलफूल तथा तरकारी खेतीमा व्यापक असर पर्न थालेपछि किसानले खेतीपाती नै छाड्नुपर्ने अवस्था आएको गुनासो स्थानीय तहहरूमा बढ्दै गएको छ।