हुम्ला – कुनै समय हुम्लाका बेरोजगार युवाको आम्दानीको राम्रो श्रोतका रुपमा रहेका खच्चड हाल सडक सञ्जाल नजोडिएका दूरदराजका बस्तीमा विस्थापित भएका छन्।
सडक नजोडिएका बस्तीमा अहिले पनि मालसामान ओसारपसार गर्नुपर्ने भएका कारण खच्चड ती बस्तीमा पुगेका हुन्।
चङ्खेली गाउँपालिका–६ का मानबहादुर शाहीले पहिले मुगु र बाजुरा जिल्लाबाट सदरमुकाम सिमकोट हुँदै नेपाल र चीनको सिमाना हिल्सासम्म सामान ढुवानी गर्ने मुख्य साधनका रुपमा रहेका खच्चड हाल बिस्थापित भएर सडक सञ्जाल नजोडिएका दुर्गम बस्तीमा पुगेको बताए।
उनले दुर्गम बस्तीमा पुगेका खच्चडले आवश्यक विकास निर्माणका सामग्रीदेखि गोठे मल र ढुङ्गालगायतका स्थानीय सामग्री पनि ढुवानी गरेर आम्दानी गरिरहेको जानकारी दिए। जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग नजोडिदासम्म दैनिक पाँच सयभन्दा बढी खच्चडले सामान ढुवानी गर्दै आएका थिए।
हाल त्यतिधेरै संङ्ख्यामा खच्चड नभए पनि एउटा सडक नजोडिएको गाउँमा पन्द्रदेखि बीस वटा खच्चडले सामान ढुवानी गर्ने कार्य गर्दै आएका छन्। खच्चड ब्यवसायी सदरमुकाम र गाउँपालिका केन्द्रबाट विस्थापित भए पनि सडक नजोडिएका वस्तीबाट आम्दानी गर्न सफल भएको सर्केगाड गाउँपालिका– ७ का कृष्णप्रसाद जैसीले बताए।
उनले आफ्नो वडाका वस्ती पनि सडक नजोडिएको कारण खच्चड सामान ढुवानीका माध्यम भएको बताउँदै यसले गर्दा पनि स्थानीयलाई सहज भएको बताए। पहिलाको जस्तो हाल धेरै राम्रो आम्दानी गर्न खच्चड ब्यवसायी सफल नभए पनि केही भए पनि कमाइरहेको छ।
जिल्लाभर अहिले पनि पचासभन्दा बढी बस्ती सडक सञ्जालसँग जोडिन सकेका छैनन्। ती वस्तीमा आवश्यक पर्ने निर्माण सामग्रीदेखि खाद्यान्नलगायत अन्य सामान खच्चडमै ढुवानी गरेर पुर्याउनुपर्ने बाध्यता छ। यसले गर्दा केही बेरोजगार युवाले रोजगारी समेत प्रदान गरि रहेको बताउदै अझै केही वर्ष यो ब्यवसायबाट आम्दानी गर्न सकिन्छ।