काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
बाढीपहिरोका कारण अवरुद्ध भएका भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, संखुवासभाको मकालु गाउँपालिका–३, नयाँ बस्तीस्थित कोसी राजमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१०, विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र तनहुँको आबुखैरेनी गाउँपालिका–४, डम्पिङस्थित पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, “बाढीपहिरोका कारण अवरुद्ध भएका पाँचवटा राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् । वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका–६, सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक भने हालसम्म पूर्ण रूपमा अवरोध भएको छ ।”
यसैगरी काभ्रेपलाञ्चोक खुर्कोट–नेपालथोक–कटुञ्जेबेसीस्थित बीपी राजमार्ग सडकखण्ड हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधन सञ्चालनमा भने अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको प्रहरीले जनाएको छ । वर्षातको समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।