काठमाडौँ – व्यक्तिगत घटना दर्तामा झुटा विवरण पेस गरी मृत्यु दर्ता गराएको आरोपमा नवलपरासी जिल्ला अदालतले सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष प्रभुनाथ अहिरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतले झुटा तथ्यका आधारमा घटना दर्ता गरिएको अभियोग सम्बन्धी मुद्दामा तीनै जनालाई थुनामा राखेर अनुसन्धान तथा मुद्दा अघि बढाउनुपर्ने ठहर गरेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए ।
सो आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को प्रावधान अनुसार जारी गरिएको जनाइएको छ । खनालका अनुसार थुनामा पठाइएकामध्ये वडाध्यक्ष अहिरसँगै सुस्ता-५, रामनगरका ३२ वर्षीय तारिफ मियाँ अन्सारी र सुस्ता-३ का वडासचिव ३२ वर्षीय संजयकुमार चौधरी रहेका छन् ।
आदेशपछि उनीहरूलाई कारागार चलान गरिएको छ । दुई जनालाई धरौटीमा रिहा गर्न आदेश भएको छ भने पाँच जना अझै फरार रहेको उनले बताएका छन् ।
घटनासम्बन्धी विवरण अनुसार उनीहरूलाई गत वैशाख १५ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा झुटा विवरण तयार गरी जीवित व्यक्तिलाई मृतक देखाएर मृत्यु दर्ता गराइएको तथ्य फेला परेको बताइएको छ ।
अनुसन्धानका क्रममा तारिफ मियाँ अन्सारीले वडा कार्यालयमार्फत आफ्ना पिताको मृत्यु भएको भन्दै कागजात पेस गरी ६६ वर्षीय व्यक्तिको नाममा गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएको खुलेको छ । तर, वास्तविक रूपमा उनका पिताको २०६० सालमै मृत्यु भइसकेको तथ्यसमेत पुष्टि भएको उल्लेख छ ।
घटना सार्वजनिक भएपछि गत वर्ष चैत महिनामा सो सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । मुद्दा अहिले अदालतको प्रक्रियामा रहेको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।