काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको सुकुम्वासी बस्ती व्यवस्थापन अभियानअन्तर्गत हालसम्म १९ वटा बस्ती खाली गराइएको छ । सो अभियानका क्रममा हजारौँ घरटहरामा डोजर चलाइएपछि ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार हालसम्म कुल २ हजार ६८७ घर तथा टहरा भत्काइएको छ । तीमध्ये ८९० वटा पक्की संरचना र १ हजार ७९७ कच्ची संरचना रहेको जनाइएको छ ।
अभियानका क्रममा करिब १५ हजार ३१६ जना व्यक्ति विस्थापित भएका छन् । विस्थापित हुनेमा पुरुष, महिला तथा बालबालिका सबै समूह समावेश छन् ।
प्रशासनका अनुसार विस्थापितमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक तथा १ हजार ६९६ बालिका रहेका छन् ।
सुकुम्वासी बस्ती हटाउने कार्यसँगै प्रभावित परिवारका लागि व्यवस्थापन तथा पुन:स्थापनाको विषय पनि थप चुनौतीपूर्ण बनेको सरोकारवालाहरूले बताएका छन् ।
