काठमाडौँ । चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादमा उच्च अदालत पाटनले चलचित्र जाँच प्रक्रियासम्बन्धी आधिकारिक कागजात पेस गर्न आदेश दिएको छ। अदालतले केन्द्रीय चलचित्र जाँच समितिको मूल फाइल झिकाउन निर्देशन दिएको हो।
अदालतका अनुसार चलचित्र प्रदर्शन अनुमति प्रदान गर्ने क्रममा तयार गरिएको सम्पूर्ण फाइल अदालतमा पेश गर्न भनिएको छ।
न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइपछि उक्त आदेश जारी गरिएको हो।
अदालतले यसअघि २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न दिएको अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिएको छ। सूचना अधिकारीका अनुसार बुधबार थप छलफलका लागि पेसी तोकिएको छ र प्राप्त कागजातको आधारमा पुनः सुनुवाइ गरिनेछ।
यसअघि १५ वैशाखमा अदालतले चलचित्रको प्रदर्शन तत्कालका लागि रोक्न आदेश दिएको थियो। रोशनी नेपालीले दायर गरेको रिट निवेदनमा चलचित्रका केही दृश्य तथा संवादप्रति आपत्ति जनाइएको उल्लेख छ।
निर्देशक यम थापाको उक्त चलचित्र १८ वैशाखदेखि प्रदर्शनमा ल्याउने तयारी भए पनि अदालतको आदेशपछि प्रदर्शन स्थगित भएको छ।