म्याग्दी । धवलागिरि गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ । म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको छ । यो स्थान समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको छ ।
यहाँ ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानव बस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवतजावत र ढुवानीमा सहज भएको व्यवसायी सोम पुनले बताए ।
“यसअघि बगरदेखि दोभान पुग्न पूरै दिन भीर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्ने थियो”, उनले भने, “हाल यहाँ जिप, मोटरसाइकल, ट्याक्टर र ट्रक चल्न थालेपछि ढुवानी र आवतजावतमा सहज भएको छ ।”
सडकको मार्ग खोलेपछि अब बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । विदेशी पर्यटकले पछिल्ला दिनमा मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि दोभानमा चहलपहल घटेको थियो । यातायात सुविधा पुगेपछि यहाँ आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको व्यवसायी लक्ष्मण घर्तीले बताए ।
धौलागिरि पहिलो र चौथो हिमालको फेदीमा रहेको समथर फाँटमा अवस्थित दोभान शान्त वातावरण र वनजङ्गलका साथै कुनाबन तालको अवलोकन, च्याउ र टुसालगायत परिकारका लागि प्रसिद्ध छ ।
‘हाइड्रो भिलेज’ प्रवर्द्धक रहेको म्याग्दी खोला जलविद्युत् आयोजनाले गत पुस महिनादेखि बगरबाट डोजर र विस्फोटक पदार्थ प्रयोग गरेर बाँधसम्म पहुँच मार्ग निर्माण थालेको थियो । आयोजना प्रमुख उत्तम पौडेलले बगर–तातोपानी खण्डको भीरमा मार्ग खुलाउने काम भइरहेको र म्याग्दी नदीको किनारै किनार ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताए । यहाँ बर्खाअघि नै करिब एक किलोमिटर दूरीमा रहेको भीर छिचोलेर सडक मार्ग खुलाउन काम सुरु भएको उनले जानकारी दिए ।