महोत्तरी – आँधीहुरीसँगै परेको असिनासहितको वर्षाका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्रका अधिकांश भाग डुबानमा परेका छन्।
स्थानीयका अनुसार नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक र खैरा चोकलगायतका क्षेत्र पूर्ण रूपमा जलमग्न भएका छन्। जलेश्वर नगरभित्रका प्रायः सडकहरूमा पानी जम्दा पैदल आवतजावत गर्नसमेत कठिन भएको छ भने सवारीसाधन सञ्चालन ठप्प जस्तै बनेको छ।
यसैगरी, सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसरमा समेत पानी पसेर कामकाज प्रभावित भएको छ। वर्षासँगै आएको पानी जमेर बस्दा बजार क्षेत्रमा दैनिक जनजीवन अस्तव्यस्त बनेको स्थानीयले बताएका छन्।
जलेश्वरमा ढल निकासको प्रभावकारी व्यवस्था नहुँदा सामान्य वर्षामै पनि बारम्बार डुबान हुने समस्या दोहोरिँदै आएको छ। स्थानीयले दीर्घकालीन समाधानका लागि व्यवस्थित ढल प्रणाली निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।