लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय महत्त्वको धरोहरका रूपमा अघि बढाउन र राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको बताएका छन् ।
उनले जितगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारसँग पहल गरिरहेको बताएका छन् ।
बुटवलस्थित जित गढी किल्ला क्षेत्रमा आज आयोजित जित गढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जित गढी किल्लाको महत्त्व एउटा स्थानीय तहमा सीमित नराखी राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताए । मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राखे ।
‘कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो’, उनले भने, ‘जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति हो यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो ।’
कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गोरखाबाट ११ दिन पैदल यात्रा गरेर नेपाली सेनाका अधिकृत र जवानहरू आज बुटवल आइपुगेको बताए ।
यसबीचमा पैदल यात्री टोलीलाई हरेक स्थानीय तहमा भव्य सम्मान गरिएको बताउँदै तत्कालीन समयमा अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले हराएको गौरवपूर्ण इतिहासको प्रभाव अहिलेसम्म पनि रहेको जनताको सम्मानबाट पुष्टि हुने गरेको बताए ।