इनरुवा (सुनसरी) । सुनसरी हरिनगर गाउँपालिका-४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाडीका चालक मोरङग रतुवामाई गाउँपालिका-८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका-८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका-२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका-८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए।
सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेको प्र १-०२-००२ च ७४४९ र प्र १-०१-००२ च १८०१ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विलबिजक नभएको काँचो केरासहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
बरामद भएको सामग्रीको ११ लाख २० हजार रुपैयाँ मुल्यांकन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको केरा र सवारी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ ।