
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।
अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताएका हुन्।
पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गरे । प्रधानमन्त्रीले भने, “मौरिसले लेखेको अन्नपूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ ।”
सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहण गरेका छन् ।
हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत उपस्थित थिए ।