
तनहुँ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकायमा एक दिनको स्थानीय बिदा लागू गरिएको हो।
गाउँपालिकाद्वारा जारी सूचनामा पालिकाभित्रका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र वित्तीय संस्थाहरूमा बिदा लागू गरिएको उल्लेख छ।
गाउँपालिकाले बिदा दिँदै जातीय छुवाछुतविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा समावेशी अभियानलाई अघि बढाउन सबैमा आग्रहसमेत गरेको छ।
संविधानतः छुवाछुत र जातीय भेदभावलाई अपराधका रूपमा व्याख्या गरिए पनि व्यवहारमा अझै यस्ता विभेद र शोषणका घटना दोहोरिरहने गरेका छन्। म्याग्दे गाउँपालिकाको यो निर्णय जातीय समानता र सामाजिक न्यायप्रति प्रतिबद्धताको सकारात्मक सन्देशका रूपमा हेरिएको छ।
स्थानीय स्तरमा यस्ता पहलले दीर्घकालीन सामाजिक रूपान्तरणमा योगदान पुर्याउने स्थानीय अगुवाहरूको विश्वास छ।