
हुम्ला – जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले सोमबारदेखि अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको छ । नागरिकता प्रमाणपत्रसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा-४ बुराउँसेबाट यो सेवा दिन थालेको हो ।
सोमबार पहिलो दिन एक महिला र दुई पुरुषलाई अनलाइनमार्फत सिफारिस प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी छिरिङ युङडुङ लामाले बताए । उनका अनुसार गाउँपालिकाले केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआइएमएस) अनुसार सिफारिस दिन थालेको हो । यो प्रणाली सुरु भएपछि सिमकोटले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइनमार्फत सिफारिस गर्ने उनले जानकारी दिए ।
विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुनेछ । वडा-४ बुराउँसेबाट सुरु भएको यो सेवा अब प्रत्येक वडामा लागू हुने जनाइएको छ ।