
काठमाडौं- राजावादीको आन्दोलनका कारण माइतीघर–बबरमहल सडक खण्ड अस्तव्यस्त बनेको छ ।
प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित बनेको हो ।राजसंस्थाको पुनः स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ । माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीका अनुसार, डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन । ‘माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको छ । करिब दुई हजार मानिस सहभागी छन् भन्ने आयो । बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहज भएको छ । तर, सवारी डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन’, एसपी गिरीले भने । राजावादीले बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका थिए ।