काठमाडौँ, ४ चैत्र । विभिन्न प्रलोभन देखाएर इराकमा लगी मानव बेचबिखन गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका-५ का ३४ वर्षीय हिरा तामाङ हुन्।
तामाङले इराकमा घरेलु काममा आकर्षक तलब हुने प्रलोभन देखाएर एक महिलालाई दुबई हुँदै इराक पुर्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको व्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले केटिएम दैनिकलाई बताए ।
ती महिलालाई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाई राखेको अवस्थामा पीडित महिला गत ५ फेब्रुवरी २०२५ मा नेपाल फर्किन सफल भएकी थिइन।
नेपाल फर्किएपछि उनले ब्युरोमा उजुरी दिइन । सोही उजुरीको आधारमा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर जाँच गरिरहेको बताइएको छ ।