काठमाडौँ, २ कात्तिक । पोर्चुगल पठाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी युरोपियन मुलुक पोर्चुगल लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भक्तपुर सुर्यविनायक-५ कट्टुन्जे बस्ने ३३ वर्षीया देवकी भुजु हुन् ।
एक पीडितले भुजुले आफूबाट तीन लाख ५६ हजार पाँचसय रुपैयाँ लिएको तर पोर्चुगल नपठाएर सम्पर्कविहीन भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गर्दै भुजुलाई कार्यालयमा उपस्थित गराउन भनेको थियो ।
विभागको पत्र पाएपछि कार्यालयले भुजुको खोजी गर्ने क्रममा शुक्रबार (आज) टेकुमा फेला पारेपछि पक्राउ गरेको हो ।
पक्राउ परेकी भुजुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अंगुर जि.सी.ले बताए ।