काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले शनिवार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
खराब मौसमका कारण शनिवार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो । काभ्रेपलान्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरूको उद्धारमा सेनाले लगातार हवाई उद्धार गरिरहेको बताए ।
त्यसै गरी शनिवार काठमाण्डौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकताका साथ लाग्न निर्देशन दिइसकेका थिए ।