काठमाडौँ, ५ असोज । क्यानडा पठाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने व्यक्ति गोरखा आरुघाट गाउँपालिका-१० घर भई हाल गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने वर्ष ३४ को रामहरी भण्डारी रहेको प्रहरीले जनाएको छ ।
दुई जना पीडितहरूले भण्डारीले आफूहरूबाट १८ लाख ३५ हजार रुपैयाँ लिएको विदेश नपठाएर सम्पर्कविहीन भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गर्दै भण्डारीलाई कार्यालयमा उपस्थित गराउन भनेको थियो ।
विभागको पत्र पाएपछि कार्यालयले भण्डारीको खोजी गर्ने क्रममा बिहीबार सुन्दरीजलमा फेला पारेपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको हो ।
पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए ।