काठमाडौँ, २७ भाद्र । वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाउने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अस्ट्रेलिया, दुबई, क्रोएसिया र जापान लगायतका देशहरूमा लैजाने भन्दै ठगी गरेको अभियोगमा राजधानीका विभिन्न स्थानहरूबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
विदेश पठाउने भन्दै बेरोजगार युवायुवतीहरूलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएकोमा पक्राउ परेका व्यक्तिहरूले एकदेखि तीन जनासम्मलाई ठगी गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
यसरी पक्राउ पर्नेमा कोटेश्वर घर भएका ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी -१ नयाँगाउँ घर भई हाल काठमाडौँको नागार्जुन-९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ, तनहुँ बन्दिपुर-७ घर भई हाल मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा, भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भई हाल चाबहिल बस्ने ४३ वर्षीय राज कुमार राई र काठमाडौँ तारकेश्वर-३ घर भएका ३७ वर्षीय अनुप श्रेष्ठ रहेका छन् ।
श्याम श्रेष्ठ, शोभा तामाङबाट तीन-तीन जना र पक्राउ परेका अन्य व्यक्तिबाट एक-एक जना ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागमा परेको उजुरीमा श्याम श्रेष्ठले छ लाख ५५ हजार, तामाङले छ लाख १५ हजार, थापाले तीन लाख राईले एक लाख र अनुप श्रेष्ठले एक लाख ४० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उल्लेख छ ।
पक्राउ परेका पाँच जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको एसपी आचार्यले जानकारी दिए ।