हेटौँडा, २३ भाद्र । यात्रुवाहक बसमा १४ किलो लागुऔषध चरेस लिएर हिँडिरहेका दुई यात्रुलाई प्रहरीले हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।
शुक्रवार साँझ ६:५५ बजे हेटौडाबाट पथलैयातर्फ जादैं गरेको ना ७ ख ६०६१ नम्बरको यात्रुवाहक बसमा सवार दुई यात्रुको साथमा रहेको झोलाबाट प्रहरीले १४ किलो चरेस बरामद गरेको हो ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा-१५ रातोमाटे चेकपोस्टमा सवारी साधानहरु रोकेर चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
डिएसपी भण्डारीका अनुसार बसमा सवार धादिङ गजुरी-८ बस्ने वर्ष ४२ को केदार तामाङ र सोही स्थानका वर्ष ३६ को सुकमान तामाङको साथमा रहेको झोला १४ किलो लागूऔषध चरेस जस्तो देखिने पदार्थ फेला परेको हो ।
चरेस भेटिएसँगै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूउपर मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।