काठमाडौं, २५ श्रावण । सामाजिक सञ्जाल फेसबुमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
अर्कै महिलाको तस्बिर राखेर फेक एकाउन्ट बनाएर त्यसमा ‘कल गर्ल’ लेखेको भन्दै पीडित युवतीको जाहेरीको आधारमा उनलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवती बर्दिया, गेरूवा गाँउपालिका-६ घर भई हाल बुढानिलकण्ठ-१० कपन बस्ने बर्ष २३ को शुस्मिता थारू रहेको साईबर ब्युरोका उप-निर्देशक प्रहरी उपरीक्षक (एसपी) दिपक राज अवस्थीले केटिएम दैनिकलाई बताए ।
थारूले पीडितको फोटो सामाजिक सञ्जालबाट डाउनलोड गरेर फेक एकाउन्ट बनाउँदै क्याप्सनमा कल गर्ल लेखेर पब्लिक पोष्ट गरेकी थिइन् ।
पीडित युवतीले उक्त पोस्टले मानसिक तनाव बेइज्जत सहित चरित्र हत्या भएकाले यसबारेमा अनुसन्धान गर्न ब्यूरोमा निवेदन दिएकी थिइन् ।
पीडित युवतीको निवेदनपश्चात प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उक्त कार्यमा थारु संलग्न भएको पाइएपछि ब्युरोको टोलीले उनलाई सोमबार पक्राउ गरेको एसपी अवस्थीले बताए ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गर्दै काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।