काठमाडौं, २४ श्रावण । ठूलो परिमाणको लागूऔषध कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
बुधबार कतार एयरवेजको उडानद्वारा काठमाडौं आएका लाटभिया देशका नागरिक ५१ वर्षका इभारस भल्टेरस नाम गरेका व्यक्तिको साथबाट ६ किलो २४ ग्राम कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
बरामद भएको कोकिनको अवैध बजार मूल्य अन्दाजी २१ करोड आठ लाख हुने व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
बिमानस्थलको आगमन कक्षमा सामान चेक जाचको क्रममा उनले बोकेको ह्यान्ड क्यारी शुटकेश भित्र लुकाई छिपाई राखेको शंकास्पद बस्तु चेक जाच गरी परीक्षण गर्दा लागु औषध कोकिन भएको प्रमाणित भएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनी अगष्ट २ मा लाटभियाबाट फ्रान्सको लागि उडेको खुलेको छ । फ्रान्समा केही दिन बसेर त्यहाँबाट कतारको राजधानी दोहा हुँदै अगष्ट ७ अर्थात श्रावण २३ गते उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
कोकिन एक प्रकारको कडा लागुऔषध हो जुन कोका बिरुवाको पातबाट रासायनिक प्रशोधनद्वारा तयार गरिन्छ ।
उक्त विरुद्ध दक्षिण अमेरिकाको पहाडी र जङ्गल क्षेत्रमा पाइन्छ भने मुख्यतया पेरु, कोलम्बिया, बोलिभिया र चिलीको दक्षिणी भेगमा कोकिनको अवैध उत्पादन हुने गरेको छ ।
त्यहाँ उत्पादन भएको कोकिन विभिन्न देशहरूमा अवैध तरिकाले निर्यात गरिन्छ । पछिल्लो समय नेपाल लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गइरहेको पनि समय समयमा यहाँ पक्राउ पर्ने ठूलो परिमाणले पुष्टि गर्दछ ।
हवाइ मार्गबाट नेपाल भित्र्याइने यी लागूऔषध सडकमार्ग हुँदै भारत लगिने र त्यहाँबाट युरोप पठाइने गरेको ब्युरोले गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।
पक्राउ परेका विदेशी नागरिकलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको एसपी कार्कीले बताए ।