गोरखा, २३ श्रावण । राष्ट्रिय जनावर गाई काटेर मारेको अभियोगमा गोरखाबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका-४ बस्ने ४१ वर्षीय बाबुराम अछामी र ३३ वर्षका राजिन सुर्खेती रहेका छन् ।
अछामीले स्थानीय दिपक काप्रीको घरमा पालिएको २ वर्षको गाईलाई सोही दिन बिहान रु पन्ध्र हजारमा किनेर लगेका थिए ।
अछामीले सुर्खेतीको सहयोगमा उक्त गाई मारेको भन्दै काप्रीले प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले दुई जनालाई मङ्गलवार पक्राउ गरेर हिरासतमा राखेको हो ।
घटनास्थलबाट गाईलाई टुक्रा पारिएको अवस्थामा गाईको अङ्गहरू र हानमार गर्न प्रयोग भएको बन्चरो, खुकुरी र करौँती समेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले बताए ।
पक्राउ परेका दुवैउपर पशुपक्षी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गर्दै अदालतबाट हिरासतमा राख्न म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
कानुनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ ले गाई, गोरु मार्न वा कुट्न नहुने त्यसो गरेमा अपराध गरेको ठहर गर्दै सजाय समेत तोकेको छ । संहिताको परिच्छेद २७ मा रहेको पशुपक्षी सम्बन्धी कसुरको दफा २८९ मा कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद र कुटेर अङ्गभङ्ग पारेमा छ महिनासम्म कैद हुनेछ ।
तर कुनै गाई वा गोरुले आफ्नो वा अरूको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने कसुर गरेको मानिने छैन भनेर पनि सोही दफामा उल्लेख छ ।